Winamp windows Media Player Real Player QuickTime

आलमको अवस्था चिन्ताजनक

६,२० गते
अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका बारा चारका एमाले उम्मेदवार मोहमुद आलमको अवस्था अझै चिन्ताजनक रहेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आइसियूमा राखेर उपचार भइरहे पनि उनको स्वास्थ्यमा कुनै सुधार आउन नसकेको चिकित्सकहरुले जनाएका छन् । उनको रक्तचाप क्रमिक रुपमा घट्दै गएको चिकित्सकहरुले जनाएका छन् । आलममाथि गत शुक्रबार बाराको परवानीपुरमा अज्ञात समूहले गोली प्रहार गरेको थियो । उनको निधारमा दुई वटा गोली लागेको छ । आलमलाई शुक्रवार दिउसो नै नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो । यसैबीच, आलममाथि आक्रमणको छानबिन गर्न गृहमन्त्रालयद्वारा गठित समितिले आजबाट काम थाल्दै छ । गृहले प्रहरी अतिरिक्त महानिरीक्षक दिनकर शमशेर राणाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।छानबिन समितिमा मध्यमाञ्चलका डीआईजी विज्ञानराज शर्मा र राष्ट्रिय अनुसन्धान विभाग, क्षेत्रीय कार्यालय, मध्यमाञ्चलका अनुसन्धान निर्देशक डीआईजी देवराज भट्ट सदस्य छन  । समितिलाई उक्त घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाएर सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिईएको छ ।


Local News

Political News

International News

Sports News